काठमाडौँ । अनेरास्ववियूको ६०औँ एवं युवासङ्घ नेपालको ३५औँ स्थापना दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।
उनले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका श्रमजीवी युवा पलायन भइरहेको अवस्थामा युवाहरू एकजुट भएर स्वदेशमा नै उद्यम गर्ने वातावरण बनाउन जरुरी भएको बताएका हुन् ।
उनले भने, “हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । समाजवादतिरको यात्रालाई व्यापक बनाउन जरुरी छ ।” उनले जनताका तत्कालीन समस्या समधान गर्न जनपरिचालन गर्नुपर्नेमा जोड दिँए ।
‘यात्रा समृद्धिको र लक्ष्य समाजवाद’को नारालाई व्यवहारमा अनुवाद गर्न आह्वान गर्दै पूर्वप्रधानमन्त्री खनालले सम्पूर्ण समस्याको एकमात्र समाधान समाजवाद भएको बताए । समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्न सक्ने विचार व्यक्त गरेका छन् ।