नयाँ दिल्ली, जेठ ३२
भारतको मध्यप्रदेश सरकारले रोजगार मेलाको आयोजना गर्ने भएको छ । प्रदेशभरमा रोजगारी दिने र रोजगारी खोज्नेहरुका बीचमा समन्वय गराउने गरी मेलाको आयोजना गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई सहयोग पुग्ने उद्धेश्यले रोजगार मेलाको आयोजना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । ‘विभिन्न प्रदेश तथा देशबाट आएका आप्रवासी कामदारहरुका लागि पनि काम खोजी दिन मेलामार्फत सहयोग पुग्ने विश्वास गरिएको छ’, एक सरकारी अधिकारीले भने ।
विशेष गरेर प्रदेशभन्दा बाहिरबाट फर्किएका आफ्नो प्रदेशका जनतालाई प्राथमिकतामा राखेर रोजगारदातासँग सामन्वय गरिदिन लागिएको ती अधिकारीको भनाई छ । अत्यधिक महत्वका साथ हेरिएको यो प्रदेशस्तरी मेला यही जुन महिनाको तेस्रो हप्तातिर सुरु हुने जनाइएको छ । ‘कामदारहरुले आफैँ सरकारलाई रोजगारीका लागि नाम दर्ता गराउने छन्, उनीहरुलाई नै रोजगारी मेलामा बोलाइनेछ र उनीहरुलाई रोजगारदातासँग भेट गराइनेछ’, सरकारी अधिकारीले भने । कारखाना सञ्चालक, निर्माण व्यवसायीलगायतसँग भेट गराएर बेरोजगारलाई रोजगारीको व्यवस्था गरिने जनाइएको छ ।
मेलामा सहभागी हुन आउने कामदारहरुलाई खाना तथा पानीको समेत व्यवस्था गरिने गरी प्रदेश सरकारले योजना बनाएको छ । मेलाका बेलामा कोरोना भाइरसबाट जोगिनका लागि अपनाउनुपर्ने आधारभूत सतर्कताहरुलाई पनि ध्यान दिइने सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सामाजिक दूरी कायम गर्ने, मास्क तथा पन्जा लगाउनु पर्ने लगायतका व्यवस्था पनि उनीहरुले गराउने भएका छन् । (रासस/पीटीआई)