काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ । अर्थ मन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको हो ।
‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ’, बोर्डले भनेको छ ।
यसअघि ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत सेवा शूल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर ०.३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, ५० हजारदेखि रु पाँच करोडसम्मको कारोबारमा ०.३७ प्रतिशत सेवा शूल्क रहेकोमा त्यसलाई घटाएर ०.३३ प्रतिशत कायम गरिएको छ ।
बोर्डका अनुसार पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई ०.३१ प्रतिशतमा झारिएको छ । त्यस्तै २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई ०.२७ प्रतिशतमा झारिएको छ ।
त्यसैगरी, एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा ०.२४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ ।