दोलखा । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ आइरहेको बागमती प्रदेश ०१,०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
दुर्घटनामा परी गाडीमा सवार सबै घाइते भएको र उनीहरु मध्ये ३ जना बाहेक अन्य ११ जना गम्भीर घाइते भएको मेलुङ गाउँपालिका(१ का वडा अध्यक्ष ईश्वर कोइरालाले बताए। घाइतेहरुको नाम खुलेको छैन तर उनीहरु शैलुङ ८ ढाँडे र मेलुङ(३ कुने आसपासका भएको बताइएको छ । ओरालो सडकमा दाउरा र क्षमता भन्दा बढी मानिस सवार भएकोले ब्रेक फेल भएर अनियन्त्रित भइ गाडी दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा प्रहरी पुगेको छैन तर स्थानीयबासीले घाइतेको उद्धार गरी सदरमुकाम चरिकोट तर्फ पठाइसकिएको वडा अध्यक्ष कोइरालाले भने,आफू घटना स्थलबाट बाहिर रहेकोे र दुर्घटनाको जानकारी पाउनसाथ काठमाडौबाट दोलखा आउदै गरेको उनले बताए।दुर्घटनाको थप विवरण आउन बाकी रहेकोे छ्।घाइते प्रायः सबैको टाउको हातखुट्टा र शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेको बताइएको छ।