काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।
बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो । ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको मे बैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंकलगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नवीनतम सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गर्नेछ । बैंकका ग्राहकको माया, कर्मचारीको लगनशीलता, सेयरधनीहरू, नियमनकारी संस्थाहरू, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटीएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।