काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई बसुन्धरास्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युट (सीएनएचएमआई) र प्रभु बैंकबीच बैंकका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच चिरायु हस्पिटलका डाइरेक्टर सञ्जीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत (सीएमओ) रवीन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक चिरायु हस्पिटलमा पेस गर्नुपर्नेछ ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले उक्त हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।
नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक चिरायु हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । ’बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर तीन सय दुई वटा शाखा कार्यालय, दुई सय ८५ वटा एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।