काठमाडौँ । पूर्वसोभियत सङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरुको छैटौँ राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो सहयोग रहेको बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र रूसबीच पुरानो सम्बन्ध रहेकाले यसलाई झन् घनिष्ठ बनाउनका लागि यस्ता अल्मुनाईले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालको आर्थिक विकासमा रूसको सधैँ साथ र सहयोग रहँदै आएको बताए ।
“नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारका क्षेत्रमा रूसको महत्वपूर्ण साथ र सहयोग रहँदै आएको छ, यो मुलुकका लागि गर्वको कुरा हो,” उनले भने ।
रूस र युक्रेनबीचको युद्धलाई वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने धारणा राख्दै श्रेष्ठले रूसली मुलुकमा सिकेको सीपलाई नेपालको विकासमा लगाउन सबैलाई आग्रह समेत गरे । नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई निविकोभले रूस र नेपालबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मित्रकुञ्जमा हाल एक हजार दुई सय सदस्य आबद्ध रहे पनि नेपालबाट रूस र पूर्वशोभियत सङ्घअन्तर्गत गएर पढ्ने विद्यार्थी भने सात हजारभन्दा बढी रहेको अध्यक्ष महेशप्रसाद पाण्डेको भनाइ छ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा रुसबाट नौ, पाकिस्तानबाट एक, मङ्गोलियाबाट चार, भारतबाट एक, चीनबाट सात, बङ्गलादेशबाट ३२, नेपालबाट एक सय ५०, भेनिनबाट एकजना प्रतिनिधिको सहभागिता रहेको मित्रकुञ्जका उपाध्यक्ष केशवराज विष्टले जानकारी दिए ।