काठमाडौं, असार १
ओमानमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी भइरहँदा दोस्रो हवाई चार्टर्ड उडान तालिकामा परिवर्तन भएको छ । उडान तालिका परिवर्तन भएसँगै ओमानमा रहेका नेपालीहरु असार ४ गते स्वदेश फर्किन पाउने भएका छन् । त्यसैगरी ओमानमा रहेका नेपालीहरुलाई प्राथमिकताको आधारमा पहिलो चरण अर्थात् पहिलोपटक सोमबार स्वदेश फर्किँदै छन् । दूतावासले सलाम एअरमार्फत ओमानमा रहेका नेपालीलाई फर्काइने भएको छ । फर्किन चाहनेले सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्नको लागि आग्रह गरिएको छ ।
ओमानस्थित नेपाली दूतावासले सूचना जारी गर्दै हवाइ उडान तीन दिनअघि सारेसँगै ओमानमा रहेका नेपालीहरु केही दिनअघि नै स्वदेश फर्किन पाउने भएका छन् । यसअघि एक सय ८० जना ओमानमा रहेका नेपाली नागरिकलाई असार ७ गते काठमाडौं फर्काउने तयारी गरिएको थियो भने यो दोस्रो उडान हो । दूतावासले के कारणले गर्दा नयाँ उडान मिति तय गरिएको विषयमा भने सूचनामा स्पष्ट पारेको छैन ।
यस्तै स्वदेश फर्किन चाहने नेपालीको नाम सार्वजनिक गर्दै आइतबार कोभिड १९ जाँच गराउन आग्रह गरेको छ भने चेकजाँचका लागि दूतावासले निश्चित स्थानहरु समेत तोकेको छ । त्यसैगरी दूतावासले पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वारेन्टिनमा नबसी आफ्नो घर जानसक्ने बताएको छ ।
एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात् करिब साढे ३६ हजार २ सय रुपैयाँ तोकेको छ भने जुन पछिल्लो समय सरकारले ओमानको लागि तोकेको भाडाभन्दा सस्तो रहेको छ । ओमानको लागि सरकारले पछिल्लोपटक तीन सय ६८ अमेरिकी डलर तोकेको छ । त्यसैगरी संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीहरु फर्काउनको लागि तय गरिएको चार्टर्ड उडान भने प्राविधिक कारणले गर्दा रद्द हुनपुगेको छ ।
यूएईस्थित नेपाली दूतावासका अनुसार प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सका १६ र १८ जुनमा हुने भनिएको दुई चार्टर्ड उडान रद्द गरेको बताइएको छ । यसअघि १६, १८, २० र २३ जुनमा गरी ४ वटा उडानमार्फत यूएईमा रहेका नेपालीहरु स्वदेश फर्काउने तयारी गरिएको थियो । युएईका लागि सरकाले तीन सय ७२ डलर भाडादर कायम गरेको छ ।