दोलखा । बिहीबारदेखि सुरु भएको प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्लाको कालिञ्चोक गाउँपालिकाले हात पारेको छ । शनिबार देउराली खेल मैदान मैनापोखरी भएको तामाकोशी गाउँपालिका र कालिञ्चोक गाउँपालिकाबीचको खेलमा सोझो सेटमा तामाकोशीलाई हराउँदै कालिञ्चोकले प्रथम पुरस्कार हात पारेको हो ।
कालिञ्चोकले नगद एक लाख पचास हजार रुपैयाँसहित सिल्ड प्राप्त गरेको छ । उपविजेता तामाकोशीले नगद एक लाख प्राप्त गरेको भने प्रतियोगितामा तेस्रो भएको जिरी नगरपालिकाले ५० हजार रुपैयाँ पाप्त गरेको छ । गौरीशंकर गाउँपालिकालाई हराउँदै जिरी तेस्रो भएको हो । सभासद् एवम् नेकपा एमालेका नेता स्वर्गीय पशुपति चौलागाईंको सम्झनामा पशुपति चौलागाईं फाउन्डेसन दोलखाले अन्तरपालिका खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।