काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनीष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औँ बैठकको निर्णयानुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।
घिमिरेको इन्भेस्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पुँजीबजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एसिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेस्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्य सम्पादन गरेका छन् । घिमिरेले एफसीसीएका साथै काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) बाट ईएमबीए पनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेस्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरूजस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फन्ड, ईस्यु म्यानेजमेन्ट र कर्पोरेट एड्भाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता रहेको छ ।
नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरूको लगानीयोग्य बचतलाई नेपालको पुँजीबजारमार्फत परिचालन गरी उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजीबजारका असीमित सम्भावनाहरू तथा यसको बहु–आयामिक पक्षहरूको अध्ययन गरी नेपाली लगानीकर्ताहरूलाई सुरक्षित तथा लाभदायक लगानीका अवसरहरू प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता सञ्चालन सेवा प्रदान गर्दै आइरहेको छ ।