सुबास बस्नेत
दोलखा, असार १
जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय दोलखाले दुग्ध विकास संस्थानद्वारा सञ्चालित दोलखा डेरीलाई ५० हजार जरीवाना लगाएको छ । दोलखा डेरीले एक महिनादेखि उत्पादन मिति र मूल्य नराखी दुग्धजन्य उत्पादन बिक्री गरेको पाइएपछि प्रादेशिक व्यापार तथा व्यवसायसम्वन्धी ऐन २०७६ अनुसार आइतबार ५० हजार जरीवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख सुजितकुमार झाले जानकारी दिए । ऐनको दफा ६१ को जरीवानासम्बन्धी व्यवस्थाको उपदफा १ को खण्ड घ (३) अनुसार ५० हजार जरीवाना गरिएको कार्यालय प्रमुख झाले जानकारी दिए ।
छापाको क्रममा बिलबिजक नराखेको पाइएपछि सोही ऐनको दफा ४४ अनुसार अन्य ६ विभिन्न उद्योग तथा व्यापारीलाई जरीवाना लगाइएको उनले बताए । बिलबिजक नराखेको पाइएको भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित माँ पलाञ्चोक बेकरी उद्योगलाई १५ हजार, भीमेश्वर बेकरी उद्योगलाई १० हजार, बस्नेत सुपथ मूल्य पसललाई १० हजार, भीमेश्वर खाद्यन्न तरकारी पसललाई १० हजार, भीमेश्वर खाद्यन्न स्टोरलाई १० हजार र वडा नम्बर ६ स्थित सदिप स्टोर्सलाई १० हजार जरीवाना गरिएको कार्यालय प्रमुख झाले जानकारी दिए । जरीवाना लगाइएको मध्ये माँ पलाञ्चोक बेकरी उद्योगले भुक्तानी गरिसकेको कार्यालयले जनाएको छ ।