काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले पर्सा जिल्लाको पर्सागढी–१, बिरुवागुठी र सुनसरी जिल्लाको गढी गाउँपालिका–२ औरावनीस्थित वेयरहाउजिङ सञ्चालनमा ल्याएको छ ।
नेपाल वेयरहाउजिङ कम्पनीको पर्सा र सुनसरीस्थित इकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भएको हो । उक्त वेयर हाउजिङको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको कम्पनीको दाबी छ । तराईका भेगहरूबाट मकैवाली कृषकहरूले हार्भेस्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कम्पनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयर हाउसको साइलोमा मौज्दात गर्न थालेका छन् । यसबाट उपयुक्त समयमा बिक्री गरी किसान तथा व्यापारीहरूले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुनेछन् ।
कम्पनीका महाप्रबन्धक समिरराज सत्यालका अनुसार मकै, गँहु, र भटमास पूर्णरूपले स्वचालित मेसिनद्वारा सफाई, तथा केलाई गरी साइलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ । साथै, यसरी साइलोमा राखिएको अनाजको तापक्रम, आदता, कम्प्युटरको माध्यमबाट सूक्ष्मरूपले वैज्ञानिक व्यवस्थापन गरिने उनले बताए । यस प्रकारले भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कम्पनी स्वयंले गरेको छ । अबको दुई महिना मकै र गहँुको कटानी भई बजारमा आउने भएकाले दिनको २५– ३० गाडी दिनहुँ आइरहेको सत्याल बताउँछन् । यसका लागि उनले अहिले २४ सै घण्टा कम्पनी सञ्चालनको व्यवस्था मिलाएको जानकारी दिए ।