काठमाडौँ । ३० औँ पटक सगरमाथा आरोहण गरी कामीरिता शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।
सगरमाथा आधारशिविरबाट कार्यालय प्रमुख गौतमले कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गरेको बताए । फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा कुशल पर्वतारोही पथप्रदर्शक हुन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
यो वर्षको आरोहण गत वैशाख २८ गतेदेखि सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेको जनाइएको छ ।