काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकका अनुसार बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि मूल्य मान्यताहरूमा अन्तर्निहित रही बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरतरूपमा सहयात्रा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको हो ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीहरूलाई सम्मानित गर्नुका साथै कर्मचारीहरूको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गरेका हुन् । सम्मानित हुनेहरूमा विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होम कुमारी बस्नेत रहेका छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा ल्याएको अमूल्य अनुभव र समर्पणलाई प्रकाश पार्दै १५ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिनुहुने कर्मचारीहरूप्रति अत्यन्त अनुगृहित रहँदै हार्दिक कृतज्ञता ज्ञापन गरे । साथै, अबको यात्रामा पनि सोहीअनुरूपको सहयोग प्रदान गर्न आह्वान गरे । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।