वासिङ्टन डीसी । अमेरिकाले चिनियाँ विद्युतीय गाडीसहित अन्य केही सामानमा भन्सार कर वृद्धि गरेको छ । चिनियाँ आयातबाट अमेरिकी रोजगारीहरु बचाउने उद्देश्यले भन्सार बढाइएको बताइएको छ । बढाइएको भन्सार दर अगस्ट १ देखि लागू हुनेछ ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले बुधबार जनाएअनुसार चिनमा निर्मित विद्युतीय सवारीसाधन, तिनका ब्याट्री, कम्प्युटर चिप्स र मेडिकल उत्पादनहरुलगायतका चिनियाँ वस्तुमा भन्सार वृद्धि गरेको हो ।
चिनियाँ विद्युतीय सवारीसाधनमा आयात शुल्क चार गुणा बढाएर एक सय प्रतिशत र अर्धचालक शुल्क दोब्बर बढाएर ५० प्रतिशतसम्म पुर्याइएकोे छ ।
वासिंटनले अमेरिकी ईभी, सौर्य र अनय नयाँ उद्योगहरु विकास गर्न सफा ऊर्जा कर सब्सिडीहरुमा सयौँ बिलियन डलर लगानी गरिरहेको छ । तर चीनको राज्य–सञ्चालित अतिरिक्त उत्पादन क्षमताले अमेरिकी फर्महरुको उत्पादनमा खतरा पारेको बताइएको छ । चिनियाँ वस्तुहरुको डरलाग्दो आयात रोक्नका लागि र रोजगारी बचाउनको लागि भन्दैे कर बढाएको हो ।