काठमाडौं । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस वर्ष पनि वर्षायाममा मेलम्ची पानी काठमाडौँ उपत्यका नआउने निश्चित भएको छ ।
ठुलो पानी पर्ने बित्तिकै आउने लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिएका छन् । गतवर्ष बाढीले गरेको हेडवक्रस अहिलेसम्म नबनेकाले वर्षयाममा पानी उपत्यका पठाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
मौसम विज्ञान विभागले यसपालि मनसुन सुरुहुने मिति किटान नगरेको हुँदा ठुलो पानी पर्ने बित्तिकै पानी पथान्तर रोक्न टोली तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताए । अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौँमा पानी पथान्तर कार्य रोकिएको थियो ।
कार्यकारी निर्देशक लामिछानेले सहायक सुरूङभित्र उपकरण पसाएर सफा गर्न कठिन भएकाले यसपटक सुरुङ सुरक्षाका लागि मनसुन सुरु हुनेबित्तिकै पानी पथान्तर रोकिने बताए । उनले भने, “हामीले यस पटक थप सतर्कता अपनाउने तयारी गरेका छौँ, अघिल्लो पटक बालुवा छिरेकाले सुरुङ सफा गर्न कठिन भयो । यसपटक त्यो नदोहोरियोस् भनेर सुरुमै सावधानी अपनाएका छौँ ।”