काठमाडौं । ज्योति विकास बैंकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका पाँच विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । यसअन्तर्गत बैंकले जुम्ला, कालीकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको छ ।
हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न विभिन्न स्वास्थ्य चौकीहरूमा बैंकले उक्त मेसिन जडान गरेको हो । हालसम्म विभिन्न चरण गरी देशका विभिन्न ठाउँमा ४३ वटा बेवी वार्मर प्रदान गरेको बैंकले यस चरणमा भौगोलिकरूपले विकट क्षेत्रहरूमा उक्त उपकरण जडान गरेको छ ।
विशेषगरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सोको कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण उक्त स्वास्थ्य संस्थाहरूमा प्रदान गरिएको बैंकले जनाएको छ । हाइपोथर्मियापश्चात् जीवन जोखिम र उपचारको लागि दुई दिन लाग्नेगरी कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यतालाई उक्त उपकरणले निर्मूल गर्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत सो मेसिनहरू प्रदान गरेको हो ।
मेसिनहरू जडानपश्चात् जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं ३ स्थित विराट स्वास्थ्य चौकी, कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ९ स्थित स्वास्थ्य चौकी–चिल्खाया, मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाअन्तर्गतको ग्रुप स्वास्थ्य चौकी, दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं २ स्थित लाँकुरी स्वास्थ्य चौकी र डुङ्गेश्वर गाउँपालिका वडा नं ४, अवलपराजुलस्थित डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाई सेवा केन्द्रको बर्थिङ सेन्टरमा प्रसूति सेवा लिन आउने प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
अस्पतालहरूमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीहरूबाट उक्त स्वास्थ्य चौकीहरूका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो । उपकरण जडानको साथै त्यसको उच्चतम सदुपयोग निश्चित गर्न बैंकले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।