काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाबाट पारित हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद सेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण सेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।
हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।
बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्ता पूँजी पाँच अर्ब पुर्याउन दिएको निर्देशनबमोजिम कम्पनीले सेयर लाभांश र हकप्रद निष्काशनमार्फत् चुक्ता पूँजी जुटाउने क्यापिटल प्लानअन्तर्गत हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत अर्थात् एक करोड ४२ लाख ७९ हजार तीन सय १२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ८२ करोड ७७ लाख ६७ हजार पाँच सय ५६ रुपैयाँ पुग्नेछ ।
चालू आर्थिक वर्ष २०८०/०८१ को चैत्र मसान्तसम्ममा कुल ४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको कम्पनीले बीमित र सेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत् आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरूमा समेत लगानी विविधीकरण गरेको छ । कम्पनीले आव ०८०/८१ को चैत्र मसान्तसम्म प्रथम बीमाशुल्क एक अर्ब २० करोड ६१ लाख, नवीकरण बीमा शुल्क चार अर्ब ५७ करोड ९२ लाख गरी कुल पाँच अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
हाल कम्पनीले देशभर रहेका एक सय ३९ वटा शाखा कार्यालयहरू र एक लाख १३ हजार अभिकर्तामार्फत् सर्वसाधारणको घरदैलोमै जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आइरहेकोे छ ।