जनकपुरधाम । सशस्त्र प्रहरी धनुषाले विशेष सूचनाका आधारमा जनककपुरधाम उपमहानगरपालिका–१ स्थित सीता चोकबाट गएराति भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिएर मंगलबार भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
प्राप्त जानकारीअनुसार २१ क्विन्टल काजु तथा पाँच क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रकसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएको सो काजु तथा किसमिस बजार मूल्यअनुसार २३ लाख मूल्य बराबरको रहेको छ ।
भारतबाट अवैधरुपमा उपरोक्त खाने सामान नेपाल ल्याइएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा मातहतको सुरक्षा वेश जनकपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीको टोलीले मधेस प्रदेश ०४–००१ ख नंको ट्रक काजु र किसमिससहित नियन्त्रणमा लिएको थियो । बरामद गरिएको ट्रकसहित उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।