काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको सरकारमा सहभागी मन्त्रीले नै असन्तुष्टि जनाउन थालेका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटप्रति महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले असन्तुष्टि जनाएकी हुन् ।
महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट दिइएको उनको आरोप छ । मन्त्रालयले आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसमा उनले समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने भए पनि अझै राज्यका तर्फबाट महिला, बालबालिका मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो गरिन् । ‘भर्खरै बजेट आएको छ । तर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका क्षेत्र तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने जिम्मेवारी रहेको महिला मन्त्रालयमा निकै न्यून बजेटको व्यवस्था गरिएको छ’, उनले भनिन्, ‘विकासे मन्त्रालय होइन भनेर महिला मन्त्रालयलाई न्यून बजेट दिने गरिएको छ ।’
बजेट निर्माण प्रक्रियामा आफू पटक–पटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहे पनि बजेट आउँदा त्यसरी नआएको उनको गुनासो थियो । ‘मैले आफ्नो जीवनकालमा यस्तो महसुस गरेको थिएन । कि मलाई यो पितृसत्तात्मक समाज नै हो भन्ने महसुस भयो । निकै नराम्रो लागेको थियो’, उनले भनिन्, ‘बजेटका विषयमा पटक–पटक प्रधानमन्त्री अर्थमन्त्रीज्यूसँग छलफल गरेको थिए । हुन त लाइन मिनिस्ट्रिसँग छलफल गरेर बजेटको टुङ्गो लगाउनुपर्ने थियो तर त्यसो हुन सकेन । मलाई मेरो जीवनकालमा यस्तो कहिल्यै महसुस भएको थिएन । तर हिजो एकखाले ग्लानी महसुस भएको अवस्था थियो । परम्परागत खालको सोंच रहेछ भन्ने मलाई लाग्यो ।’
आर्थिकरूपले महिलालाई सशक्तीकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको भए पनि बजेट भने सोचेअनुसार नहुँदा नमुनारूपमा मात्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।