काठमाडौं । बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिज र कुमारी क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूमा निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता—पत्रमा बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले कृषि क्षेत्रको व्यावसायिकता र दिगोपना, उत्पादन प्रवद्र्धन, उत्पादकत्व वृद्धि तथा बजार सुनिश्चितताको लागि काम गरिरहेको छ । यस कम्पनीेको हाइलाइफ एग्रो एण्ड फुड्स इन्डस्ट्रिज लिमिटेड तथा पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानीलकण्ठमा सबैभन्दा ठूलो लगानी रहेको छ । विभिन्न उद्योग, व्यापार, होटल तथा पर्यटनलगायतका क्षेत्रमा व्यापार सञ्चालन र विस्तार गर्न आफ्नो पूर्ण स्वामित्वका विभिन्न सातवटा सहायक कम्पनी स्थापना गरी काम अगाडि बढाएको छ । उपभोक्ताहरूलाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपलव्ध गराउन गो मार्ट सञ्चालनमा ल्याएको छ । कम्पनीले पूर्ण स्वामित्वको चितवन फुड्स इन्डस्ट्रिज लिमिटेडमार्फत दाल, चामल, तेल, आटा र गेडागुडीलगायतका खाद्य सामग्रीको उत्पादन सुरु गरेको छ ।
कम्पनीले नमुना कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि अनुसन्धान केन्द्र साथै खाद्य उद्योग स्थापना र सामुदायिक खेतीका लागि विभिन्न स्थानमा करिब ६० बिघा जग्गा खरिद गरी काम गरिरहेको छ । ‘जोड्दै नेपाली मन, खोज्दै आफ्नो पन’ भन्ने नारासहित स्वदेशी उत्पादन र उद्यमशीलतामार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कम्पनीका काम देशव्यापीरूपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।