काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बु जिल्लाको पाङ् बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार नेपाल सरकार/वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने यस आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रूपमा प्राप्त हुने च्यालेन्ज फन्ड प्रवाह गर्नको लागि साझेदार बैंकको रूपमा भूमिका निर्वाह गर्नेछ ।
चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको यस आयोजना ४,४२३ मिटरको उचाइमा रही संसारकै अग्ला स्थानहरूमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये एक हो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत् उपलब्ध नभएका कारण विद्युत् अभाव रही आएकोमा यस आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उक्त समस्याको न्यूनीकरण मात्र नभई वातावरणमा सकारात्मक प्रभाव, पर्यटकलाई भरपर्दो ऊर्जाको विकल्प तथा खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका चार सय ५१ घरधुरी प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर एक सय ९६ वटा शाखा (पाँच वटा एक्स्टेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ सेवा र दुई सय २६ एटीएममार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैंभरलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले आफ्नो ग्रहम सेवा केन्द्र (सिद्धार्थ केयर)मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।