काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।
कामपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आगामी दिनका लागि थप सचेत रहन आग्रह गरिएको बताइन् । “डेङ्गी बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा छ”, उनले भनिन, “प्रत्येक वडामा नियमित रुपमा सरसफाइको काम भइरहेको छ ।”
सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको जानकारी गराउँद निमित्त प्रमुख महर्जनले डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको बताइन् । डेङ्गी नियन्त्रण गर्न आवश्यक परे महानगरले ‘बायो लार्भिसाइड’ छर्कने तयारी गरेको छ । “बायो लार्भिसाइड प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छन् भने अन्य जीवाणुलाई असर गर्दैन”, उनले भनिन ।
डेङ्गीको मुख्य लक्षण
स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनका अनुसार डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षणहरू देखा पर्दछ । ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्नेलगायत लक्षण रहेका जानकारी दिइन् ।
एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने उनको भनाइ छ । डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने , प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्नेलगायत उपाय अपनाउनुपर्ने कामपाको भनाइ छ ।