इजरायल । इजरायली रक्षा बलले हमास लडाकु समूहले गाजाको बैँकबाट लाखौँ शेकेल (इजरायली मुद्रा) चोरी गर्ने योजना बनाएको दस्तावेज सामाजिक सञ्जालमार्फत प्रदर्शन गरेको छ ।
‘हमासले गाजामा रहेका बैँकको सेफ लुट्ने योजनाको आन्तरिक दस्तावेजको खुलासा गरेको एक महिनापछि हमासले गाजापट्टिमा रहेको बैंक अफ प्यालेस्टाइनको शाखाबाट लाखौं शेकेल चोरी गरेको थियो’, आइडिएफका अरबी प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचे अद्राईले एक्समा भनेका छन् ।
बैंक अफ प्यालेस्टाइन जुडिया, सामरिया र गाजाभरी शाखा भएको सबैभन्दा ठुलो प्यालेस्टिनी बैंक हो । ‘मार्च १० मिति लेखिएको सो दस्तावेज अबु जिहाद नामक हमास समुहका सदस्यद्वारा तयार पारिएको थियो । सोहीअनुसार आन्दोलनका सदस्यले गाजामा रहेको बैंक अफ प्यालेस्टाइनका शाखाबाट चालिस करोडभन्दा बढी शेकेल चोरेका थिए’, अद्राइले जानकारी गराए । हमास समूहले पटक–पटक बैँक अफ प्यालेस्टाइनका विभिन्न शाखामा चोरी गरेका छन् ।
‘गाजाका बासिन्दाले आर्थिक र सामाजिक संकटको सामना गरिरहेका बेला हमासले आफ्नो साथै आफ्ना सदस्यको अस्तित्वका लागि गाजा पट्टीका नागरिकबाट कुनै हिचकिचाहट बिना चोरी गरिरहेको छ’, अद्राइले भने ।