काडमाडौं,पतिपत्नी आलोपालो अध्यक्ष भएर काठमाडौं,ललितपुरसहित देशका बिभिन्न जिल्लाका सात हजार २०७ सर्वसाधारणको सात अर्ब ८९ करोड ९९ लाख नौ हजार ७२ रुपियाँ अपचलन र हिनामिना गरेपछि चन्द्रबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेबाट काठमाडौँ आएका लामा १२ वर्षसम्म सहकारीको बचत रकमले घरजग्गा प्लटिङ कारोबारी थिए । उनले अस्पताल, रेस्टुरेन्ट, रिसोर्ट र निजी क्याम्पसमा लगानी गरेका थिए । लामाले नेतृत्व गरेका सहकारीहरुमध्ये पशुपति सहकारीबाट एक हजार ४२ जनाको एक अर्ब ११ करोड ४८ लाख तीन हजार ६१८ रुपियाँ अपचलन भएको छ । त्यसै गरी कान्तिपुर सहकारीबाट छ हजार १६५ जनाको छ अर्ब ७८ करोड ५१ लाख पाँच हजार ४५४ रुपियाँ अपचलन लामासहित सञ्चालकबाट भएको छ । सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई २०८० साउन १ गते र कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई २०८० फागुन ३ गते समस्याग्रस्त सहकारी घोषणा गरी सबै सञ्चालकको सम्पत्ति रोक्का गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।