काठमाडौं,गृहमन्त्री रबी लामिछानेले ट्राफिक नियम मिच्नेलाई सडकमा स्वयंसेवक बनाएर खटाउन दिएको निर्देशनमा सर्वोच्च अदालतले रोक लगाएको छ । आइतबार न्यायाधिश तिलप्रसाद श्रेष्ठको इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिँदै कारण देखाउ आदेश समेत जारी गरेको छ ।
गृह मन्त्रालय,काठमाडौं उपत्यका प्रहरी ट्राफिक हाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै कृष्ण विकसहित सातजनाले शुक्रबार रिट दायर गरेका थिए । निवेदनमा उनीहरुले गृहमन्त्रीस्तरीय निर्णयले सवारीचालकले गल्ती गरेमा उनीहरुलाई सडकमा सवारी व्यवस्थापनमा खटाइने भएकोमा यसविरुद्ध रिट दायर भएको उल्लेख गरेका थिए । प्रहरीको उक्त कार्यले नागरिकहरुको सम्मानपूर्वक बाँच्न पाउने हक,हिँडडुल गर्न पाउने हक हनन भएको दाबी रिटमा रहेको थियो । न्यायाधीसको फैसलासँग अबदेखि ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णय बन्द हुने भएको छ ।