काठमाडौं । जेठ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका हतियारहरू इजाजत वा हकले घरबाहिर लैजान नपाउने र यात्रा इजाजत प्राप्त गरेका हातहतियार समेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गर्या । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय नहुँदै दुर्गा प्रसाईँले सामाजिक सञ्जालमा अभिव्यक्ति दिए । बिहे गरेर छोराछोरी जन्माउन नपाइने भन्ने पनि कहीँ हुन्छ ? कस्तो निर्णय गर्दै छ बोक्न नपाइने रे ?
प्रसाईँँको यस्तो अभिव्यक्ति आउनुअघि उनको गतिविधिबाट प्रहरी आजित भइसकेको छ । उनले मनपरि अभिव्यक्ति दिँदै हिँडेका छन् । केपी ओलीलाई तेल लाएर मोल्न मात्र बाँकी छ रे । यस्ता अभिव्यक्ति त उनका लागि सामान्य भएका छन् । कुन शब्द बोल्न हुन्छ, कुन शब्द बोल्न हुँदैन, सामाजिक सञ्जालमा कस्ता शब्द बोल्न हुन्छ भन्नेसम्म पनि उनले हेक्का राख्ने गरेका छैनन् । त्यस्तै उदण्डता गृहमन्त्री रवि लामिछानेले पनि देखाइरहेका छन् । सामाजिक सञ्जालमा सामाजिक खलल पु¥याउने गरी कसैैले बोल्यो भने त्यसलाई कारबाही गर्ने गराउने व्यक्ति गृहमन्त्री त्यस्तो अश्लील हर्कत गर्ने प्रसाईँसँग प्रतिस्पर्धा गरिरहेका छन् । उनी नै प्रतिस्पर्धामा उत्रिएयपछि उनीअन्तर्गतको गृहप्रशासनबाट त्यसको रोकावट वा नियन्त्रण हुने कल्पना गर्नु नै दिवास्वप्न मात्रै हो । प्रसाईँको उदण्डताले नेपालबाट धमाधम पुँजी पलायन भइरहेको छ । त्यसको यकिन तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्नुपर्ने हो तर गरिरहेको छैन, केही नभएजस्तो गरेर बसेको छ ।
अर्थ मन्त्रालय पनि मौनता साँधेर बसेको छ । प्रसाईँले आफूलाई मन नपरेका व्यक्तिलाई चोर, डाका, तस्कर, माफिया, राष्ट्रघाति, विदेशी दलाल, ब्ल्याकमेलर भन्दै आएका छन् । उनले सार्वजनिकरूपमा औपचारिक कार्यक्रम नै गरेर त्यस्तो घोषणा गर्नेगरेका छन् । छाडा र उच्छृङ्खल अभिव्यक्ति दिन स्वयम् गृहमन्त्री लामिछाने र प्रसाईँबीच होडबाजी नै चलेको छ र त्यसलाई नियमन गर्ने साइबर क्राइम ब्युरोलगायतका निकाय निरीह रमिते बनेका छन् । त्यसलाई कडाइका साथ रोक्न आईजीपी बसन्त कुँवरले प्रहरी प्रशासनलाई निर्देशन दिनुपर्ने थियो तर उनले पनि अराजक गृहमन्त्री पाएको मौका छोपेर आफ्ना झिनामसिना स्वार्थ सिद्ध गर्दै आएका छन् र त्योभन्दा बढी अदृश्य शक्तिको भरपुर सेवा पुर्याएका छन् । गृहमन्त्री लामिछानेका विगतका अपराध छोप्न ढाल बनेर उभिएका आईजीपी कुँवरले दुर्गा प्रसाईँको अराजकताको संरक्षण गरेर अदृश्य शक्तिको सेवा गरेका छन् ।
को हुन् दुर्गा प्रसाईँ भन्ने त सबैलाई थाहा छ । उनी कसका लागि काम गरिरहेका छन्, त्यो भने सबैलाई थाहा छैन । उनी ब्याजपीडितलाई उरालेर सडकमा उत्रिएका छन् । विभिन्न उद्योग व्यवसाय सञ्चालन गरिरहेका मधेशी समुदायका खासगरी भारतीय मूलका व्यापारीहरूलाई नेपालबाट लखेट्ने अभियानको नेतृत्व गरिहेका छन् । भित्रीरूपमा उनको यो अभियान २०१७ सालको राजनीतिक दुर्घटनाअघिकै अवस्थासँग मिल्दोजुल्दो छ । त्यतिबेला प्रजातन्त्र फाल्न योगी नरहरिनाथले सिखण्डी बनाएर यसैगरी अराजकता मच्चाएका थिए । अहिले प्रसाईँले त्यसैको बिँडो थामेका छन् । नरहरिनाथको त्यो अराजकतालाई नेपाली कांग्रेसबाहेक सबैले अप्रत्यक्ष सहयोग र समर्थन गरेका थिए । त्यही साथ समर्थनले नरहरिनाथको अराजकता मौलाएको थियो ।
अहिले दुर्गा प्रसाईँको अवस्था पनि त्यही घटनाक्रमसँग मिल्दोजुल्दो छ । कांग्रेसबाहेकका शक्ति उनको अराजकतासँग कुनै न कुनै रूपमा जोडिएका छन् । उनी कुनै समय मार्सी चामलको भातले चर्चित थिए । उनले प्रचण्ड र केपी ओलीलाई मार्सी भात खुवाएर चर्चा बटुलेका थिए । त्यतिबेला उनी प्रचण्डलाई बाउ भन्थे, त्यसपछि उनी बिस्तारै ओलीलाई बा भन्न थाले । त्यही भड्केको आत्मा बिस्तारै अपदस्थ राजा ज्ञानेन्द्रको निकट बन्न पुग्यो । कुर्सीमा बसेर अराजकता मच्चाउने गृहमन्त्री रवि लामिछाने उनका रविदाइ हुन् । कांग्रेसबाहेकका नेताहरूसँग उनले कुनै न कुनै नाता साइनो गाँसेका छन् । त्यही शक्ति सत्तामा छ । उनी सडकमा निर्बाध अराजकता मच्चाइरहेका छन् । सरकारले गर्न लागेका निर्णयका अग्रीम सूचना उनले पाउने गरेका छन् । हुन त देश–विदेशका गफ पनि उनले लगाउने नगरेका होइनन्, विदेशतिरका त गफै हुन् तर देशभित्रका सूचनाचाहिँ बेलैमा उनीसमक्ष पुग्ने गरेको छ र त्यही सूचनाका आधारमा उनले अराजकता मच्चाइरहेका छन् । तर, उनलाई कसैले पनि रोक्न आवश्यक ठानेको छैन । उनको अराजकता अपदस्थ राजाको भन्दा १० गुणा अघि रहेको छ । उनको सूचनाको त्यो स्रोत के हो ? त्यसका बारेमा पनि कुनै पनि सुरक्षा निकायले कुनै अनुसन्धान गरेको पाइएको छैन ।
नेपाल प्रहरीको प्रधान कार्यालयमा केही समयअघि बोलाइएको पीसीसी बैठकमा सहभागीमध्येका केहीले यो कुरा उठाएका थिए । पीसीसी बैठकमा हेडक्वाटर अर्थात् एआईजी, डीआईजी तथा आईजीपीले आवश्यक ठानेका प्रहरी अधिकृत अनिवार्य सहभागी हुन्छन् । त्यो बैठकमा सहभागीका तर्फबाट कुरा उठाइयो कि प्रहरी प्रशासनले भन्दा दुर्गा प्रसाईँँले सूचना पाउने गरेको पाइयो, हामी तल्ला निकायले सूचना संकलन गरेर हेडक्वाटरमा जाहेर गरेर निर्देशन पाएपछि आदेश गर्ने हो तर प्रसाईँलाई भन्दा प्रहरीलाई ढिला सूचना आउने गरेकाले समयमै काम गर्नसक्ने अवस्था रहेन । त्यस कारण हेडक्वाटरले प्रसाईँले कहाँ के विध्वंश गर्दै छ भन्ने बेलैमा निर्देशन दिए जनधनको क्षति हुनबाट रोक्न सकिनेथियो भनेपछि बैठकमा सन्नाटा छाएको थियो । त्यसको सोझो अर्थ प्रसाईँलाई हेडक्वाटरबाटै सूचना चुहिएको भन्ने नै हो ? जब कि गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेच्ने सांसद संसद्मा रहेको अराजक भाषण गरेर सबैको ध्यान अन्यत्र मोड्न खोजिरहेका छन् । तर, त्यही गृह प्रशासनबाट सूचना बिक्रीमा चुहावट भइरहेको छ टड्कारो रूपमा देखिन्छ ।
प्रसाईँले जे–जस्ता सूचनाका आधारमा अराजकता मच्चाइरहेका छन्, ती सूचना उनलाई बैंक ब्याजपीडित, सहकारीपीडित वा मिटरब्याजपीडितले दिएका होइनन् न त मार्सी चामलको भातेहरूले नै दिएका हुन् । उनलाई ती सूचना अपदस्थ राजाका तर्फबाट वा भारत सरकारबाट पाएको जस्तो पनि उनको लेबलले देखाउँदैन । देशभित्रकै सुरक्षा निकायमध्ये नेपाली सेना वा गुप्तचर विभाग अथवा सशस्त्र प्रहरी बलले उनलाई सूचना उपलब्ध गराएको जस्तो पनि देखिँदैन । पीसीसी बैठकमा उठेको जस्तै एउटा आशंका गर्ने ठाउँचाहि भेटिएको छ । अहिले मुलुकमा अराजकता मच्चाउँदै हिँड्ने प्रसाईँको सत्ताधारीहरूसँग पुरानो सम्बन्धचाहिँ रहेकै हो । योभन्दा पनि उनको बहिनीज्वाइँ पर्ने व्यक्ति बाबुराम कुँवर अहिले राष्ट्रपति रामचन्द्र पौडेलको कानुनी सल्लाहकार छन् । उनका भाई बसन्त कुँवर अहिले नेपाल प्रहरीको महानिरीक्षक छन् ।
पीसीसी बैठकमा उठाउन खोजिएको प्रश्न त्यसैको संकेत त होइन ? दुर्गा प्रसाईँको यो अराजकता मच्चाउने सूचनाको स्रोत के हो ? त्यसको जवाफ गृहमन्त्री लामिछानेले नेपाली जनतालाई दिनुपर्दछ । यो लोकतन्त्र ल्याउन लामिछानेको लगानी शून्य भएपछि जनताले आफ्नै रगत पसिनाले बगाएर ल्याएका हुन् । जनता यो सूचना पाउने हकदार हुन् ।