काठमाडौं, असार २
सेयर बजार आगामी बिहीबारसम्म नै बन्द भएको छ । नेपाल धितोपत्र बोर्डको पत्रअनुसार आगामी बिहीबारसम्म पुुनः सेयर बजार बन्द गर्ने निर्णय गरिएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । नेप्सेका अनुुसार धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार आगामी असार एक गते सोमबारदेखि असार चार गते बिहीबारसम्मको लागि सेयर कारोबार बन्द गरिएको हो ।
देशमा कोरोना भाइरसको महामारी बढ्दै गएपश्चात् सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सोही आधारमा नेप्सेले चैत १० गतेदेखि नै सेयर कारोबार बन्द गरेको थियो । पछिल्लो पटक यही वैशाख ३० गते मंगलबारदेखि नेप्सेले दैनिक दुुई घण्टा अर्थात् ११ बजेदेखि एक बजेसम्म सेयर कारोबार खुल्ला गर्ने प्रयास गरेको थियो । तर, कारोबार खुुलेकै दिन नेप्सेमा लगातार निगेटिभ सर्किट ब्रेक लागेको थियो । पहिलो दिन १० करोडको सेयर किनबेच हुुँदा नेप्से २५ अंकले घटेको थियो भने दोस्रो दिन पनि नेप्से खुुलेको पहिलो ३९ मिनेट अर्थात ११ बजेर ३९ मिनेटमा नै नेप्से २४ अंक अर्थात् दुई प्रतिशतभन्दा तल झरेको थियो ।
सोपश्चात् उक्त दिन अर्थात् बुुधबार ११ बजेर ३९ मिनेटमा नै उक्त दिनको पूरै कारोबार स्थगन गरिएको थियो । सो लगत्तै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि, लगानीकर्ताहरू, मर्चेन्ट बैंकर, सेयर ब्रोकर आदि समेतको सल्लाहमा लकडाउनको अवधिभर अर्थात् जेठ पाँच गतेसम्म नै सेयर कारोबार बन्द गर्ने निर्णय नेप्सेले गरेको थियो । सोपश्चात् सरकारले पटक–पटक लकडाउनको अवधि थप गर्दै यही जेठ ३२ गतेसम्म कायम गरेको थियो । सो पश्चात असार एक गतेदेखि लकडाउन खुकुलो गरिए पनि नेप्सेले भने असार चार गतेसम्म नै सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।