नयाँदिल्ली । भारतमा छ हप्तासम्म चलेको लोकसभाको निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन आयुक्त राजीव कुमारले समेबार ६४ लाख २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको जिकिर गरेका छन् । कुल मतदातामध्ये लगभग आधा ३१ करोड २० लाख महिला मतदाता सहभागी भएका छन् ।
निर्वाचन आयोगले ९६ करोड ८० हजार योग्य मतदाताको तथ्यांकको आधारमा ६६ दशमलव तीन प्रतिशत मतदान भएको जनाएको छ । यो प्रतिशत सन् २०१९को निर्वाचनको तुलनामा केही कम हो । चर्को गर्मीका कारण मतदाताको उपस्थितिमा केही कमी आएको विश्लेषण गरिएको छ ।
आयोगले केही छिटफुट घटनाबाहेक निर्वाचनको समयमा कुनै हिंसात्मक घटना नभएको बताएको छ । आयोगले आज मंगलबार मतगणनाको नतिजा सार्वजनिक गर्दै छ । अधिकांश ‘एक्जिट पोल’ले मोदीको पार्टी विजयको बाटोमा रहेको देखाएका छन् ।