काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । नेपाल क्लियरिङ हाउसले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सलाई प्राप्ति गरी ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’को नामबाट यही जेठ २१ गते अर्थात् सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको हो ।
क्लियरिङ हाउसले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको सम्पूर्ण सम्पत्ति तथा दायित्व प्राप्त गरेपछि नेपाल क्लियरिङ हाउस लिमिटेडमा सर्नेगरी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडबाट सञ्चालन हुँदै आएको सम्पूर्ण कारोबार सोमबारका दिनदेखि ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’को नामबाट सञ्चालन हुनेछ । भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उप–विनियम १३ बमोजिम दुवै कम्पनीले एकीकृत कारोबार सुरु गरेको कम्पनीले जानकारी दिएको छ । एकीकृत कारोबार घोषणाको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने नेपाल राष्ट्र बैंकका उच्च पदस्थहरू, सरकारी निकायका पदस्थहरू, बैंक वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थालगायतका प्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
दुवै संस्थाहरूले २०८१, वैशाख १३ गते आ–आफ्नो विशेष साधारणसभाबाट स्वीकृति प्राप्त गरी आवश्यक सम्पूर्ण कानुनी र प्रक्रियागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृतिपश्चात् उक्त प्राप्तिसम्बन्धीको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो । भुक्तानी तथा फछ्र्याैट विनियममा रहेको प्रावधानअनुसार डीडीए अडिटरले मूल्याङ्कनलगायत विभिन्न पक्षको समीक्षासहितको प्रक्रिया पूरा गरी १ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको हो । दुवै संस्थाहरू बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्धित भएकाले प्राप्तिपश्चात पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेरबदल भएको छैन ।
दुवै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्यसहित आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका हुन् । नेप्सले विगत ११ वर्षदेखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्षदेखि कार्डबाहेकका विभिन्न राष्ट्रियस्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेसनल पेमेन्ट स्वीचको कार्यान्वयन तथा अन्तरआबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।
प्राप्तिपछि एकीकृत चुक्ता पुँजी एक अर्ब सात करोड तथा कुल कोष एक अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरू न्यूनीकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरूलाई सुदृढ गर्न, नवीनतम अनुसन्धानका कार्यहरूमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, २०८० चैत्र मसान्तसम्म दुवै कम्पनीको संयुक्त कारोबार रकम एक खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने संयुक्त कारोबार संख्या १३ करोडभन्दा बढी रहेको छ । एक सय ३२ भन्दा बढी कर्मचारीहरूको अनुभव तथा दक्षताले एनसीएचएललाई नेपाल तथा अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउन मद्दत पुग्नेछ ।