काठमाडौं । सुपर कृषक एपले आईसीसी टी–ट्वान्टी विश्वकपमा नेपाली क्रिकेट खेलाडीहरूले गरेको प्रत्येक पाँच रनको लागि एक कफी बिरुवा वितरण गर्ने अभियानको घोषणा गरेको छ । सो एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ ‘पाँच रन बापत एक कफी बिरुवा’ अभियानको घोषणा गरेको जनाएको छ ।
यस अभियानअन्तर्गत अमेरिका र वेस्ट इन्डिजमा हाल भइरहेको विश्वकपमा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको पाँच रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गर्नेछ । यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ । नेपालमा उत्पादित कफी अहिले विश्वबजारमा राम्रो ख्याती कमाइरहेको मौका छोपेर यो अभियान सञ्चालन गरिएको जनाइएको छ । ‘जसरी नेपाली खेलकुद क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै क्रिकेट खेल उदाइरहेको छ, त्यस्तै गरी विश्व बजारमा पनि नेपाली कफीको माग बढ्दै गएको छ’, आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै, निर्यात गर्न सकिने कृषि उपजको रूपमा उदाइरहेको छ । यस अभियानले देशका गहना राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीले गरेको रनले कुनै भूगोलका नेपाली सीमान्तकृत किसानको जीवनस्तर उकास्न टेवा पुग्नेछ ।
क्रिकेट विश्वकप सम्पन्न भएपछि नेपालमा कफीको सम्भावना बोकेको र भौगोलिक र मौसमको हिसाबले उचित स्थान छनोट गरी किसानहरुलाई कफीका बिरुवा वितरण गरिने जनाइएको छ । सुपर कृषक एप नेपाली कृषकहरूको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो । घाम पावर नेपालले विकास गरेको यस एपले हालसम्म २० हजार बढी नेपाली कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ । अनलाइन कृषि तालिम, माटो जाच्ने सुविधा, एआईको माध्यमबाट रोग कीरा पहिचान गर्ने कृषि डाक्टर, भू–उपग्रहको सहयोगबाट बालीको स्वास्थ्य, सिँचाइ, मौसम स्थितिबारे जानकारी दिनेलगायतका विविध सेवा सुविधा सुपर कृषक एपले निःशुल्क प्रदान गर्दै आएको जनाएको छ ।