पाटन (ललितपुर) । विश्व वातावरण दिवसको अवसरमा नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको बताउँदै वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले वातावरण संरक्षणमा पनि दुवै मुलुक एकजुट भएर लागिपरेको उल्लेख गरे ।
ललितपुर महानगरपालिका र भारतीय राजदूतावासको संयुक्त आयोजनामा ललितपुरको गुसिङगालस्थित वाग्मती किनारमा वृक्षरोपण गर्दै मन्त्री सुडीले नेपाल र भारतको मित्रसम्बन्ध रोटी र बेटीबाट वातावरण संरक्षणमा जोडिएको उल्लेख गरे । उनले नेपालको समग्र विकासका लागि भारतबाट सहयोग प्राप्त भइरहेको बताए ।
“वातावरण संरक्षण वर्तमानका लागि मात्रै नभएर भावी सन्ततिका लागि पनि अत्यन्तै महत्वपूर्ण छ, हामीले जति अक्सिजन खपत गरिरहेका छौँ, त्यति नै अक्सिजन उत्पादन गर्न सहयोग गर्नुपर्छ, हरेक क्षेत्रमा काम गर्न भारतबाट महत्वपूर्ण सहयोग मिलेको छ, नेपालको सर्वाङिगण विकासमा सहयोग प्राप्त भएको छ ।” उनले ललितपुर महानगर र प्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षणका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे ।
महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुरले हरेक दिन वातावरण संरक्षणका लागि सार्वजनिकस्थानमा हरियाली प्रवर्द्धन गर्ने तथा शहरको सुन्दरता कायम गर्न पोखरी संरक्षणमा काम गरिरहेको बताए । उनले वातावरण दिवसको अवसरमा गरिएको वृक्षरोपण प्रतिकात्मक काम मात्रै भएको उल्लेख गरे ।
वातावरण दिवसको अवसरमा भारतीय राजदूतावाससँगको समन्वयमा गरिएको वृक्षरोपणले वातावरणसम्बन्धी काममा एउटा इँटा थपिएको उनको भनाइ थियो । उनले ललितपुर महानगरले विगतमा वृक्षरोपण गरेका बिरुवा ९० प्रतिशत हुर्केको जानकारी दिए ।
विश्व वातावरण दिवसमा ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाएकामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आभार व्यक्त गरे । भारत र नेपालले वातावरणका क्षेत्रमा मिलेर काम गर्नुपर्ने उनले बताए ।