काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले पशुपति मन्दिर दर्शन गर्न आउने भक्तजनहरूलाई निःशुल्क प्रसाद वितरण गर्ने व्यवस्था मिलाउने बताएका छन् । उज्यालो भविष्य नामक सामाजिक संस्थाले राजधानीमा बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले आगामी आर्थिक वर्षदेखि निःशुल्क प्रसाद वितरण गर्ने गरी तयारी थालेको जानकारी दिएका हुन् । पशुपति क्षेत्रमा जाने भक्तजनहरूलाई सोही क्षेत्रमा केही समय बिताउनका लागि पशुपति क्षेत्र विकास कोष र हिन्दुधर्मसम्बन्धी संघसंस्थाहरूको सहयोगमा सो व्यवस्था मिलाउन लागिएको उनले बताए । यस्तै, उनले धर्म संस्कृति र प्राकृतिक स्रोत साधन दुवैको उचित प्रयोगमार्फत नेपालमा पर्यटक भित्र्याउने बताए ।