महोत्तरी । ज्येष्ठ कृष्णपक्षको आमावस्या आज बिहीबारका दिन मिथिलाका नारीहरुले वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ ।
नयाँ वस्त्र लगाएका महिलाहरु वटवृक्ष भएका स्थानमा जम्मा भएर सामूहिक गीत गाउँदै हर्षउल्लस पूर्वक यो पर्व मनाउँदै छन् । पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् ।
जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख)को फेदमा बर्तालु मिथिलानीले सामुहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।
व्रतको अभिष्ट नै पतिको दीर्घजीवनको कामना हुने महोत्तरीको बर्दिबास–२ वरचौतारामा पर्वको तयारीमा रहेकी शैल कर्णले बताइन् । मिथिलामा केही दशकअघिसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने गरेको यो पर्व हिजोआज सबै जातजातिका मिथिलानीले मनाउन थालेका छन् ।