काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको विशेष समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।
महामन्त्री शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको तर अनुसन्धानबाट खासै केही परिणाम नआएको टिप्पणी गरे । नेता शर्माले २०४६ साल यताका सबै अनियमितताका घटनामा निष्पक्ष छानबिन गर्ने हो भने आफ्नो पार्टी तयार रहेको बताए ।
महामन्त्री शर्माले विश्वासको मत लिने समयवाधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षीको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरूको असहमति रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कांग्रेसले जग्गा बेचेको जस्ता आरोपयुक्त अभिव्यक्ति दिएकामा चिन्ता व्यक्त गर्दै त्यस्तो हो भने छानबिन गरेर कारबाही गर्न गृहमन्त्री समक्ष आग्रह गरे ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट देशको सूचना विदेशीलाई बेचेको आरोप कांग्रेसका सांसदलाई लगाइएकामा आपत्ति जनाउँदै महामन्त्री शर्माले भने, “देशको गृहमन्त्रीले गोली हान्न आदेश दिने हो, हावामा गोली हान्ने होइन ।’’