काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोफे इलेक्ट्रिक भेहिकल्सका लागि सोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुपअन्तर्गत् त्रिवेणी मोटोकर्प, चीनको डोफे अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएपश्चात् सो सोरुम सञ्चालनमा ल्याएको हो ।
कम्पनीले इलेक्ट्रिक भेहिकलहरू आयात गरी बिक्री वितरण समेत सुरु गरेको जनाएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डोफे इलेक्ट्रिक प्यासेन्जर भ्यान र चार दशमलव पाँच तथा पाँच दशमलव तीन घनमिटर क्षमताको कार्गो भ्यानहरू बिक्री वितरण सुरु गरेको छ । कम्पनीका अनुसार ११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ । यस्तै, ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा तीन सय किमी रेञ्ज प्रदान गर्दछ । त्यसैगरी १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा तीन सय किमीको रेञ्ज प्रदान गर्छ ।
कम्पनीले उक्त रेञ्जहरू ४० किमी प्रतिघण्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परीक्षण गर्दा दुई सय ५० किमीको रेञ्ज सजिलै पाइने जनाएको छ । डोफेका सबै इलेक्ट्रिक भ्यानहरूमा सीएटीएल ब्याट्री जडित रहेका छन् ।
कम्पनीले डोफे इलेक्ट्रिक भ्यानहरू नेपालभरि बिक्री वितरण गर्नका लागि डिलर नेटवर्कहरूको व्यवस्था पनि गरिसकेको छ । सबै डिलर नेटवर्कहरूमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ । कम्पनीले चार्जिङ स्टेशनहरू समेत आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको र आवश्यकताअनुसार विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।
त्रिवेणी मोटोकर्पले बिर्तामोडमा सहारा अटोमोबाइल्स कम्पनी प्रालि, इटहरीमा इस्टर्न मोटर्स प्रालि, जनकपुर तथा वीरगञ्जमा नारायणी अटोकर्प प्रालि, पोखरामा अटोवेज प्रालि, धनगढीमा प्राप्ति मोटर्स प्रालि, नारायणघाटमा स्मार्ट अटो प्रालि, ललितपुरमा स्मार्ट अटो प्रालि, भक्तपुरमा जीईभी नेपाल प्रालिमार्फत आफ्ना गाडीहरूको बजारीकरण गरिने जनाएको छ । यस्तै, कम्पनीले काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको जनाएको छ ।