सुबास बस्नेत
दोलखा, असार ३
कोरोनाको त्रास र लकडाउनका बेलामा पनि भीमेश्वर नगरपालिका–४, स्थित जिलु मा एकीकृत नमुना बस्ती निर्माण द्रुत गतिमा भइरहेको छ । विनाशकारी भूकम्पपछि एकीकृत नमुना बस्तीको निर्माणका लागि छनोट भएको डिही– फसीभैं नमुना एकिकृत बस्तीको पूर्वाधार निर्माण कार्य समाप्त भई विकसित घडेरी हस्तान्तरण भएपछि बस्ती निर्माण द्रुत गतिमा भइरहेको हो । पूर्वाधार निर्माण कार्य सम्पन्न भई चैतको पहिलो हप्ताबाट सुरु भएको जिलु एकीकृत नमुना बस्तीमा निजी आवास बनाउने कार्य लकडाउनकै अवधिमा पनि द्रुत गतिमा अगाडि बढीरहेको जिलु– फसीभैं एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष अर्जुनप्रसाद चौंलागाईंले बताए । नमुना बस्तीको ‘ख’ ब्लक फसीभैंमा एक निजी आवास निर्माण समाप्त भएको तथा ५२ वटा घर निर्माण भइरहेको उनको भनाइ छ ।
एकीकृत नमुना बस्ती निर्माणका लागि डिही तथा फसीभैंलाई ‘क’ र ‘ख’ ब्लकमा विभाजन गरी कुल एक सय ९० वटा निजी आवासको पुनर्निर्माण गरिनेछ । असारको पहिलो हप्तासम्ममा ‘ख’ ब्लकमा ५५ ओटा निजी आवासको पुनर्निर्माण सम्पन्न हुने अध्यक्ष चौलागाईंले जानकारी दिए । ‘क’ ब्लकमा भने निजी आवास निर्माण सुरु भएको छैन । ‘क’ ब्लकअन्तर्गतको डिहीमा करिब ४५ रोपनीमा ७८ वटा निजी आवास तथा ‘ख’ ब्लक फसीभैंमा करिब ६० रोपनीमा एक सय १२ वटा निजी आवास पुनर्निर्माणका लागि विकसित घडेरी उपलब्ध गराइएको अध्यक्ष चौंलागाईंले जानकारी दिए ।
एकीकृत नमुना बस्तीको लागि स्थानीयले ६० देखि १३ सय वर्गमिटरसम्म जग्गा उपलब्ध गराएको भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष एवं भीमेश्वर नगरपालिकाका प्रवक्ता हरिवंश चौंलागाईंले बताए । एकीकृत बस्तीमा निजी आवास बनाउनेहरूले कम्तीमा ४ आनाको विकसित घडेरी प्राप्त गरेको वडाध्यक्ष चौलागाईंले जानकारी दिए । दुबै ब्लकको बस्ती क्षेत्रभित्र पूर्वाधार निर्माणका लागि मात्र कुल जग्गाको २६ प्रतिशत जग्गा खर्च भएको बताइएको छ । पूर्वाधारअन्तर्गत सडक तथा भूमिगत ढल तथा नालाको निर्माण कार्य सम्पन्न भइसकेको छ ।
एकीकृत बस्तीमा निजी आवाससहित सडकमा सोलारबत्ती तथा सामूदायिक भवन निर्माण गरिने वडाध्यक्ष चौलागाईंले जनाए । एकीकृत नमुना बस्ती जिल्लाकै व्यवस्थित सहरीकरणको नमुना बन्नेमा आफूहरू विश्वस्त रहेको वडाध्यक्ष चौंलागाईंको भनाइ छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहाडी क्षेत्रमा एकीकृत नमुना बस्तीको पूर्वाधार निर्माणका लागि प्रतिलाभग्राही चार लाख अनुदान उपलब्ध गराएको थियो ।