पाकिस्तान । चिनियाँ राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफबीच चिन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)को स्तरोन्नति गर्न सहमति भएको छ । आम चुनावपछि पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र उनको प्रतिनिधिमण्डल चीनको पाँच दिने भ्रमणमा रहेको अवस्थामा यस्तो सहमति भएको हो ।
दुई नेताले सिपेकको स्तरोन्नति र मेगा परियोजनाको विकासलाई दोस्रो चरणमा अगाडि बढाउन सहमति जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सिपेकको दोस्रो चरणको उद्घाटन गर्ने सम्भावना रहेको जनाइएको छ ।
यद्यपि यो यात्राले सामान्यतया जुनको पहिलो हप्तामा प्रस्तुत हुने वार्षिक संघीय बजेटमा ढिलाइ निम्त्याएको छ भने सरकारको अस्थायी योजनाअनुसार जुन–१२ मा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सीलाई आर्थिक सुधार, दिगो विकास, औद्योगिक विकास, कृषि आधुनिकीकरण, क्षेत्रीय सम्पर्क र देशको विकासमा सिपेकले खेलेको महत्वपूर्ण भूमिकाका लागि पाकिस्तानको नीतिबारे जानकारी गराए । उनले सिपेकको उच्च गुणस्तरीय विकास र घनिष्ठ समन्वयको माध्यमबाट दुई देशको विकास रणनीतिबीच तालमेललाई बढावा दिन पाकिस्तानको प्रतिबद्धतालाई जोड दिए । प्रधानमन्त्री शाहबाजको राष्ट्रपति सीसँग पदभार सम्हालेपछि भएको यो पहिलो भेट भएको थियो ।
प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिका अनुसार यो भेट दुई देशबीचको घनिष्ठ मित्रता र रणनीतिक सम्बन्धको परम्परागत न्यानो प्रतिबिम्बद्वारा उजागर गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रपति सीको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको प्रशंसा गर्दै बीआरआईको प्रमुख परियोजनाका रूपमा सिपेकले पाकिस्तानको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याएको कुरामा जोड दिए । यसैबीच, चिनियाँ नेताले पाकिस्तानमा चिनियाँ परियोजनाको सुरक्षा सुनिश्चित गर्न प्रयास बढाउन शाहबाज सरिफलाई पनि आह्वान गरे ।