काठमाडौं । महानगरपालिकाले दिएको पटक–पटकको निर्देशन अटेरी गर्ने ठमेलको जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल)सहित सात विद्यालयको सटरमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । शुक्रबार शिक्षा विभागका अधिकारीहरूको नेतृत्वमा गएको नगरप्रहरीको टोलीले विद्यालयको स्वामित्वमा रहेको सम्पत्ति भाडामा लगाएर व्यापार गर्दै आएका ती विद्यालय मातहतमा रहेका सटरमा ताला लगाएको हो ।
सामुदायिक विद्यालयको स्वामित्वमा रहेको भवनलाई व्यापारिक प्रयोजनमा नलगाउन महानगरपालिकाले पटक–पटक पत्र लेख्दै आएको थियो । शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार यस पटक १३ वटा विद्यालयलाई यस्तो निर्देशन दिइएकोमा छ विद्यालयले आफैँ सटर खाली गरेका थिए । निर्देशन नमानेका सात विद्यालयका सटरमा तालाबन्दी गरिएको उनको भनाइ छ ।
यसरी ताला लगाइएकोमा जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल) ठमेलको सबैभन्दा धेरै ४६ वटा सटर छन् । यी स्थानमा रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए । यस्तै, रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय न्होखाका ३६ वटा सटरमा तालाबन्दी गरिएको महानगरपालिकाले जनाएको छ । मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको दाहालले जानकारी दिए ।
यसअघि महानगरपालिकाको निर्देशन बमोजिम शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए ।
यसरी बन्द गरिएका सबै विद्यालयका सटरहरू विद्यालय प्रयोजनकै लागि प्रयोग गर्न महानगरले निर्देशन दिएको छ । सटर भाडामा नदिँदा विद्यालय सञ्चालनमा आर्थिक भार पर्छ भने त्यसमा महानगरले सघाउने महानगरको तयारी छ । महानगरले गत असोजदेखि नै विद्यालयले भाडामा लगाएका सटर खाली गराउन सूचित गर्दै आएको थियो । महानगरले त्यस्ता विद्यालयलाई सटर भाडामा लगाउँदा पर्ने आर्थिक भारको विवरण माग्दा पनि बेवास्ता गरेपछि महानगरले नगरप्रहरी लगाएर सटर बन्द गर्न थालेको जनाइएको छ ।
यसैगरी महानगरले विद्यालयका सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीहरूलाई एक हप्ताभित्र सामान लिएर जाने समय दिएको छ । महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर भाडामा लगाएको महानगरको शिक्षा शाखाले जनाएको छ ।