काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् ।
उनले यही जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सो अवसरमा जेठ ३१ गते उनले उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । असार ३ गते राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहने छिन् ।