काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले गैह्रकानुनी तवरले अमेरिका पठाउने गिरोहमा संलग्न मुख्य नाइकेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका– ११, सोलुखुम्बुका नारायण कुमार खड्का रहेका छन् । उनलाई प्रहरीले कञ्चनपुर भिमदत्त नपा वडा नं ११ गड्डाचौकीबाट सोमबार पक्राउ गरेको हो ।
खड्काले वैदेशिक रोजगारीको लागि संयुक्त राज्य अमेरिका पठाई दिने भनी विभिन्न व्यक्तिहरूबाट चार करोड रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीका अनुसार खड्काले आफ्नै खातामा रकम जम्मा गर्न लगाएको देखिएको छ । खड्काको बैंक खातामा चार करोड ३३ लाख ६८ हजार रुपैयाँ विभिन्न व्यक्तिले जम्मा गरेको देखिन आएको पाइएको हो । खड्काले अमेरिका पठाउन भनी भिएसएस गर्नको लागि भारतमा लगि बायोमेट्रिकलगायतका कार्य गराउने गरेको पनि खुलेको छ । यस्तै, उनले पीडितहरूलाई अमेरिका लैजाने भनि सिंगापुर, आइबरी पोस्ट हुँदै घानासम्म पुर्याइ अलपत्र पारेको पनि खुल्न आएको प्रहरीले जनाएको छ ।
यस्तै, खड्काले काठमाडौं, कलकत्ता, अजरबैजान, पोर्चुगल, सुरीनामा हुँदै अमेरिका, ग्रीस, क्यानेडा, फिनल्याण्ड, जर्मनी, मेक्सिको, ब्राजिल, पेरू, कोलम्बियालगायतका देशहरू समेतमा पठाउने भनि ठगी गर्ने गरेका थिए । अमेरिका पठाउने भनी हालसम्म ८/१० जनाबाट रकम लिएको खुलेको छ भने युरोप पठाएबापत प्रतिव्यक्ति आठदेखि १० लाख रुपैयाँसम्म रकम लिने गरेको पाइएको प्रहरीले जनाएको छ । खड्काको ज्योती विकास बैंकको खातामा सन २०२२ देखि २०२४ मे २९ सम्म चार करोड ३३ लाख ६८ हजार रुपैयाँ जम्मा गरेको देखिएको छ । सोमध्ये उनले चार करोड ३२ लाख २६ हजार रुपैयाँ भने झिकी सकेको पाइएको हो ।
प्रहरीले खड्को साथबाट विभिन्न व्यक्तिहरूको राहदानी, मोबाइल, विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक, खड्काको नामको विभिन्न बैंकहरूको चेक, बैंक खाता रकम जम्मा गरेको तथा आईएमई गरेको भौचर, रसिद ठेली तथा खड्काको नामको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको परिचयपत्र बरामद गरेको थियो ।