काठमाडौं, असार ३
प्रोग्रेशिभ फाइनान्सको नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । फाइनान्सले हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आरोग्य बचत खाता सञ्चालनमा ल्याएको हो । यो योजनाअनुसार अब ग्राहकहरूले खोलेको खाताको न्यूनतम मौज्दातको आधारमा एक लाख रूपैयाँसम्मको बीमा सुविधा प्रदान गरिनेछ । साथै, न्यूनतम मौज्दात ५० हजार रूपैयाँ हुनेगरी खाता खोल्ने ग्राहकहरू एक लाख रूपैयाँबराबरको कोभिड १९ बीमा सुविधाबाट लाभान्वित हुन सक्नेछन् ।
फाइनान्सका अनुुसार प्रशन्न बचत खाताका ग्राहकहरूलाई समेत उक्त बीमा सुविधा उपलब्ध हुनेछ । ‘एक लाखको मुद्धति खोल्नुस्, एक लाखकै कोरोना बीमा सुविधा पाउनुहोस योजनाअनुसार एक लाख रूपैयाँ वा सोभन्दा बढीको न्यूनतम एक वर्षे मुद्दती खाता खोल्ने ग्राहकलाई पनि एक लाख रूपैयाँकै कोभिड १९ बीमा सुविधा संस्थाले उपलब्ध गराउनेछ । संस्थागत ग्राहकहरूको सुविधाका लागि पनि फाइनान्स कम्पनीले नयाँ योजना अघि सारेको जानकारी दिएको छ ।
फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २० लाख १६ सय छ रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा दुई करोड ९१ लाख ९० हजार छ सय ८७ रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८० करोड एक लाख रूपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४८ करोड ९७ लाख १९ हजार नौ सय १७ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ८९ लाख ८८ हजार दुई सय १८ रूपैयाँ कर्जा प्र्रवाह गरेको छ । सो अवधिमा सात करोड ५९ लाख २४ हजार दुुई सय ५८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुुई दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले एक अर्ब सात करोड नौ लाख ५५ हजार दुुई सय १० रूपैयाँ निक्षेप संकलन गरी ९३ करोड ४१ लाख सात हजार दुई सय छ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड १२ लाख ७७ हजार एक सय ७१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । फाइनान्सले हाल सातवटा शाखाहरू तथा चार वटा एक्सटेन्सन काउन्टरहरूबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।