काठमाडौँ । हेटौँडा सबस्टेसन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले भने, “सबस्टेशन निर्माण सम्पन्न भएसँगै ऊर्जा क्षेत्रको विकास र मुलुकको समृद्धितर्फको यात्रामा अर्को एउटा खुड्किलो थपिएको छ ।” उनले विद्युत् उत्पादन र खपत गर्ने उपभोक्ताबीच जोड्न सयौँ किलोमिटर दूरीमा पूर्व–पश्चिम, उत्तर–दक्षिण प्रसारण र वितरण लाइनका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणको काम तीव्र गतिमा भइरहेका बताए ।
विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, “त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्तीहरू अँध्यारोमै थिए । तर, अहिले करिब ९५ प्रतिशत भूभागमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । वैकल्पिक ऊर्जासहित करिब ९९ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ ।”
मुलुकका लागि सुनौला दिनहरू अब टाढा नरहने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको बताए । उनले अब विद्युत्को पहुँच मात्र होइन, आन्तरिक रूपमा विद्युत् खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए ।
“करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार तयार हुनुलाई मैले देशको ऊर्जा विकासका लागि महत्वपूर्ण कोसेढुङ्गाको रूपमा लिएको छु”, प्रधानमन्त्री दाहालले भने, “पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि हेटौँडा सबस्टेसन अर्को ठूलो ‘हब’ बनेको छ ।” नेपाली इन्जिनियर तथा प्राविधिकबाट नै डिजाइन तथा निर्माण सुपरीवेक्षण गरिएका चार सय केभीका तीन वटा सबस्टेसनको निर्माणबाट नेपालको प्राविधिक क्षमता वृद्धि भएको बताउँदै प्रधानमन्त्रीले उक्त ज्ञान, सीप र दक्षलाई अन्य आयोजनामा अनुशरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सङ्घीय सांसद दीपकबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो ।