काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ । बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोनवाहकले प्राप्त गर्न सक्ने छन् । यसअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात÷हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन, ढडेलोजस्ता विपद्हरूको पूर्वसूचना उपलब्ध गराइने छ । यसका लागि टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि पहिलेदेखि नै छ सय सिम उपलब्ध गराइरहेकोमा अब थप एक सय सिम समेत गरी सात सय थान सिम उपलब्ध गराएको छ । यसमा प्रतिमहिना तीन सय एमबी डाटा समेत निःशुल्क उपलब्ध छ । टेलिकमले विगत २०७३ सालदेखि नै यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको थियो ।