धनुषा । आठ दिनदेखि बेपत्ता एक महिलाको शव महेन्द्रनगरबाट फेला परेको छ । शनिबार क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक सोनुकुमार साहर्ले बताए । रुबीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट स्वदेश फर्किएपछि यादवसँग रुबीको निरन्तर झगडा हुँदै आएको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले उजुरी दिएका थिए । प्रहरी निरिक्षक साहले रुबी बेपत्ता भएको उजुरी परेपछि खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको बताए ।
प्रहरीका अनुसार रुबीका श्रीमान् राजनारायण यादवलाई रुबी बेपत्ता भएको उजुरी पर्ने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएका थिए । प्रहरी निरिक्षक साहका अनुसार राजनारायणले गत शनिबार घुम्न जाने भनेर औरही सामुदायिक वनमा श्रीमतिलाई लिएर गएको र त्यहीँ हत्या गरेर जङ्गलमा लास फालेको बयान दिइ उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीले शवपरीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको जनाएको छ । प्रहरी निरिक्षक साहले घटनाबारे थप अनुसन्धान गर्दै अभियुक्तलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए ।