काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थामा झण्डै एक अर्ब रुपैयाँ घोटाला गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले आइतबार पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार चार जना अभियुक्तहरुले ९४ करोड २३ लाख रुपैयाँ रुकम ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा तनहुँको ब्यास नगरपालिका वडा नम्बर ११ घर भई हाल काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार तथा सहकारी संस्थाका सदस्यद्वय ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सञ्जय सापकोटा छन् ।
ललितपुरको कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेको सहकारीका सञ्चालकले बचतकर्ताको ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त संस्थाबाट हालसम्म दुई हजार पाँच सय ३१ जना बचतकर्ता पीडित भएको देखिएको छ । ति मध्ये पाँच सय ६६ जना पीडित बचतकर्ताहरुले उनीहरुबिरुद्ध उजुरी दिएपछि चारै जनालाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ । उक्त संस्थामा बचतकर्ताको दुई अर्ब ८० करोड रुपैयाँ बचत रकम रहेको अनुसन्धानबाट खुलेको छ ।