काठमाडौं । इन्टरनेसनल डे अफ फेमली रेमिट्यान्ससम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा आइतबार आरण्य बुटिक होटल हात्तिसारमा उक्त गोष्ठी सम्पन्न भएको हो ।
नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सञ्चालित गोष्ठीको प्रमुख अतिथिमा नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाको उपस्थिति रहेको थियो भने नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धर विशेष अतिथिको रूपमा उपस्थित भएका थिए । रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूसमेतको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा रेमिट्यान्स क्षेत्रसँग सम्बन्धित विविध विषयहरूलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथि कार्यवाहक गभर्नर डा तिम्सिनाले आफ्नो मन्तव्य राख्दै नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न आप्रवाह रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै वैधानिक तबरले रेमिट्यान्स भित्र्याउन नेपाल राष्ट्र बैंक, नेपाल मुद्रा विप्रेषक संघसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि बताए । यसैगरी अतिथिद्वय नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले पनि रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाइहरू राखेका थिए । नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले स्वस्थ प्रतिस्पर्धा गर्न सके रेमिट्यान्समा वृद्धि हुन गई विदेशी मुद्रा सञ्चितिमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आम्दानीमा वृद्धि हुन गर्ई राजस्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुनेभन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेल, उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले आ–आफ्नो भनाइ राखेका थिए ।