काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार तीन सय ५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौता–पत्रमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदीस्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरी ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत्आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत सेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राइभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल सामग्रीहरू जडान गरी अबको १० महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति ३३ केभी डबल सर्किट ट्रान्समिसन लाइनमार्फत आठ किलोमिटर लामो समुद्रटार सबस्टेसनमा जडान गरिने कम्पनीले जनाएको छ । यस संस्थामा संलग्न समूहद्वारा प्रवद्र्धित कम्पनीहरूबाट हालसम्म एक सय मेगावाटभन्दा बढी विद्युत् तथा सौर्य ऊर्जा उत्पादन गरी राष्ट्रको ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।