काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संस्थागत जानकारी एवं अनुमतिविना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन दिएका छन् ।
आइतबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि विवाद उत्पन्न हुँदा बैठक स्थगित भएको थियो । सोपश्चात दुवै सदनका सभामुख/अध्यक्षले संयुक्तरूपमा संसदीय समितिहरूलाई गैरसरकारी संस्थाको सहयोग नलिन निर्देशन दिएका हुन् । सभामुख/अध्यक्षको निर्देशनअनुसार सङ्घीय संसद् सचिवालयले मंगलबार समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै सो ध्यानाकर्षण गराएको छ । ‘सङ्घीय संसद्को संस्थागत जानकारी एवं विनाअनुमति कतिपय गैरसरकारी संस्थाहरूले सङ्घीय संसद्अन्तर्गतका समितिहरू तथा सचिवालयलाई सहयोग गर्ने, सांसदको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामामा प्रभाव पार्ने गरेको गुनासा सुनिने गरिएको सन्दर्भमा समयसमयमा सतर्क गराउँदै आएको भए पनि यस्ता गुनासा पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराइएको छ’, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।