काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगालमा विशेष साधारणसभा सम्पन्न गरेको हो । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोडको १५ प्रतिशत अर्थात् प्रत्येक एक सय कित्ता सेयर बराबर १५ कित्ताको दरले हकप्रद सेयर जारी गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । यसैगरी हकप्रद सेयर जारी गरेपश्चात् कम्पनीको चुक्ता पुँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या दुई लाख दुई हजार छ सय १८, बीमाशुल्कबापत दुई अर्ब ३६ करोड ७८ लाख ७७ हजार नौ सय ४९ रुपैयाँ आर्जन गरी तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार दुई सय १५ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । कम्पनीले विगतको वर्षहरूमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोही अवधिमा आठ हजार एक सय ८१ वटा दाबीको रकम एक अर्ब २६ करोड ६४ लाख ९४ हजार पाँच सय ६८ रुपैयाँ दाबी भुक्तानी गरेको र कोभिड बीमा दाबीबाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या तीन हजार सात सय ३७ कायम गर्न सफल भएको जनाएको छ ।
यसैगरी कम्पनीको पुनर्बीमा कम्पनीहरूसँगको पुराना हिसाबकिताब राफसाफ गरी व्यावसायिक सम्बन्ध सुधार गर्ने कार्यहरू भइरहेको र यसको फलःस्वरुप कम्पनीप्रति पुनर्बीमा कम्पनीहरूको विश्वासमा अभिवृद्धि भई आगामी वर्ष पुनर्बीमा कमिसनमा वृद्धि हुन सक्ने र कम्पनीलाई लाभदायक पुनर्बीमा सम्झौता गर्न सुविधा हुने कम्पनीले जानकारी दिएको छ ।